काठमाडौं । भारतले नेपाललाई घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँको आर्थिक सहयोगमध्ये ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा सहयोगको विवरण सार्वजनिक गरिएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको आर्थिक प्याकेजमध्ये ३५ अर्ब भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा खर्च गरिनेछ।
त्यस्तै, बाँकी ११५ अर्ब भारतीय रुपैयाँ अर्थात् करिब १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ लाइन अफ क्रेडिटमार्फत सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ।
यसअघि नेपालले भारतसँग १ खर्ब भारतीय रुपैयाँ अनुदान र थप १ खर्ब भारतीय रुपैयाँ ऋण सहयोग उपलब्ध गराउन आग्रह गरेको थियो।
घोषित सहयोगमध्ये अनुदानले विपद्पछिको पुनर्निर्माणमा राहत पुग्ने र सहुलियतपूर्ण ऋणले नेपालका विकास आयोजनालाई अघि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।