नयाँदिल्ली । नेपालको वैदेशिक व्यापार र पारवहन सुविधालाई थप सहज बनाउने उद्देश्यले भारतले दुईवटा समुद्री बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने घोषणा गरेको छ। अब नेपालले गुजरातस्थित दीनदयाल (कान्दला) बन्दरगाह उपयोग गर्न पाउनेछ भने आवश्यक पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाहसम्म पनि पहुँच विस्तार हुनेछ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा यस्तो व्यवस्था उल्लेख गरिएको हो। यसले समुद्रसम्म प्रत्यक्ष पहुँच नभएको नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारमा थप विकल्प सिर्जना गर्ने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा भारतले नेपाललाई कुल २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। त्यसमा विपद्पछिको पुनर्निर्माण र पूर्वाधार निर्माणका लागि ५ हजार ६०० करोड रुपैयाँ अनुदान तथा ऊर्जा परियोजनाका लागि १८ हजार ४०० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण समावेश छ।
दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोणपत्र स्वीकार गर्दै आर्थिक विकास, ऊर्जा, जलस्रोत, डिजिटल प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य बढाउने सहमति गरेका छन्। काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा पनि सहमति भएको छ।
धार्मिक पर्यटन प्रवर्द्धनका लागि अयोध्या–जनकपुर रेल सेवा ‘सरयु–कमला एक्सप्रेस’ शुभारम्भ गरिएको छ। त्यस्तै, रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको स्थलगत सर्वेक्षण सम्पन्न भएको घोषणा गर्दै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।
सीमापार पूर्वाधारतर्फ बनवासामा नयाँ एकीकृत जाँच चौकीको शिलान्यास र धार्चुला–दार्चुला जोड्ने मोटर चल्ने पुलको उद्घाटन गरिएको छ। यसले सीमावर्ती क्षेत्रको आवागमन तथा व्यापारिक गतिविधिलाई सहज बनाउने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ। झापामा पेट्रोलियम टर्मिनल निर्माण र सिलिगुढी–झापा पाइपलाइन अघि बढाउने सहमति भएको छ। साथै, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ।
पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने तथा सीमापार विद्युत् प्रसारण लाइन निर्माणमा सहकार्य गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।
शिक्षा तथा प्रविधिमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना गर्ने सहमति भएको छ। प्रहरी अनुसन्धान, प्रशासनिक तालिम, स्वास्थ्य, परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, सहरी विकास तथा पशुपालनलगायत क्षेत्रमा आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति धन्यवाद दिएका थिए। भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। भारतीय प्रधानमन्त्रीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने जनाइएको छ।
नेपालका लागि समुद्री बन्दरगाहको पहुँच विस्तार यो भ्रमणको महत्वपूर्ण उपलब्धि हो। तर यसको वास्तविक लाभ भने पारवहन सम्झौताको कार्यान्वयन, ढुवानी लागत, समय र व्यापारिक प्रक्रियामा आउने सहजताले निर्धारण गर्नेछ।