काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको पुनः छानबिन र पीडितलाई न्याय दिलाउने उद्देश्यसहित सरकारले नयाँ आयोग गठनको प्रक्रिया अघि बढाएको छ। यससम्बन्धी कानुनी व्यवस्था गर्न तयार पारिएको अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको हो।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गर्न अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधान छ।
प्रस्तावित अध्यादेशले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको थप अनुसन्धान गर्ने बाटो खोल्ने सरकारी अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आन्दोलनमा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरूको माग सम्बोधन गर्नु पनि आयोग गठनको उद्देश्य हो।
अध्यादेश जारी भएपछि घटनाको अनुसन्धान, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउने र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने प्रक्रिया अघि बढ्नेछ।
त्यस्तै, गम्भीर प्रकृतिका अपराधबाहेक अन्य मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुंग्याउन कानुनी आधार तयार गर्ने सरकारको तयारी छ।
यद्यपि, अध्यादेश जारी भएपछि आयोगको कार्यक्षेत्र, अनुसन्धानको प्रक्रिया र क्षतिपूर्ति निर्धारणको मापदण्ड कस्तो हुने भन्ने विषय महत्वपूर्ण हुनेछ। यसले आन्दोलनका पीडित र आरोपित दुवै पक्षको न्यायसम्बन्धी अपेक्षालाई कसरी सम्बोधन गर्छ भन्ने चासो बढेको छ।