काठमाडौं । ओखलढुंगामा मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेका यात्रु सवार बोलेरो जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।
सोमबार बिहान करिब ७ः१५ बजे सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुंगा भित्री सडकखण्डमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिरतर्फ जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका सबै नौजना सिद्धिचरण नगरपालिका–२ का स्थानीय रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पुर्याइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।