काठमाडौं । वैदेशिक रोजगारीका नाममा भएको ठगी र रकम विदेश पठाइएको प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित तत्कालीन उच्चपदस्थ सरकारी अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
पक्राउ पर्नेमा तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुङ्गाना, सहसचिव राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको थियो। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अदालतबाट चार दिनको म्याद प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको छ।
प्रहरी अनुसन्धानअनुसार नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी ठूलो रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आशंका गरिएको छ।
उक्त प्रकरणमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको आरोप छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा नेपाल सरकारले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।