काठमाडौँ । भारतको दिल्लीबाट काठमाडौँ आएका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान रहेका छन्। शनिबार विमानस्थलमा शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा प्रहरीले उनको झोला जाँच गर्दा ३.५ किलोग्राम थाई गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको थियो। उनको साथबाट एउटा राहदानी र मोबाइल फोनसमेत बरामद गरिएको छ।
पक्राउ परेका सलमानमाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।