महोत्तरी । मिथिलासहित तराईका विभिन्न क्षेत्रमा छठ पर्वको रौनक छाएको छ। चार दिनसम्म मनाइने पर्वको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिमा सहभागी हुँदैछन्।
पर्वको पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरेका बर्तालु आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार व्रत बस्नेछन्। साँझ चन्द्रदर्शनपछि नयाँ माटोको चुलो र भाँडामा सख्खर, दूध तथा स्थानीय चामलबाट तयार पारिएको खीर छठी मातालाई अर्पण गर्ने परम्परा छ। त्यसपछि बर्तालु र परिवारका सदस्यले उक्त खीर प्रसादका रूपमा ग्रहण गर्छन्।
छठ पर्वमा खरनालाई आत्मशुद्धि, संयम र निष्ठासँग जोडिएको महत्वपूर्ण विधि मानिन्छ। यस दिन प्रसादका रूपमा तयार गरिने खीर माटोको भाँडामा पकाएर केराको पातमा राखी अर्पण गर्ने चलन छ।
पर्वको तेस्रो दिन बर्तालु निराहार व्रत बसेर साँझ जलाशय तथा नदी किनारमा बनाइएका घाटमा पुग्छन्। कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ।
त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ। बिहानको यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। अर्घ्यका क्रममा जटासहितको नरिवल, ठकुवा, भुसुवा तथा विभिन्न फलफूल सूर्यदेवलाई अर्पण गरिन्छ।
छठका लागि घरमै तयार पारिने ठकुवा, भुसुवालगायतका परिकार आफन्त र इष्टमित्रलाई बाँड्ने परम्परा पनि छ। यस्ता परिकार परम्परागत रूपमा ढिकी–जाँतोमा पिसिएको पिठोबाट तयार गरिन्छन्। जलाशयका किनारमा आकर्षक घाट सजाएर सामूहिक रूपमा पूजा गर्ने चलनले पर्वको सांस्कृतिक र सामाजिक महत्व झल्काउँछ।
पहिले मुख्यतः मधेसी हिन्दू समुदायमा सीमित रहेको छठ अहिले पहाडी समुदायसहित विभिन्न जाति र धर्मका मानिसको सहभागिताले साझा पर्वका रूपमा विस्तार हुँदै गएको छ। मिथिलामा मुस्लिम समुदायका व्यक्तिले समेत बर्तालुलाई आफ्नो भाकल सूर्यदेवसमक्ष अर्पण गरिदिन आग्रह गर्ने गरेको पाइन्छ।
भङ्गाहा–५, सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादवका अनुसार सबै धर्म, संस्कृति र समुदायको सहभागिताले छठ मिथिलाको साझा लोकसंस्कृति र आस्थाको पर्व बनेको छ।