काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आजका लागि तय भएको सुनुवाइ स्थगित भएको छ।
रिटमा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई अदालतको म्याद बुझाउन बाँकी रहेपछि सुनुवाइ अघि बढ्न नसकेको हो।
यसअघि सर्वोच्च अदालतले केसीका नाममा म्याद जारी गरेको थियो। तर, उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमै रहेको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो।
त्यसपछि कार्कीले अदालतसमक्ष छुट्टै निवेदन दिएका थिए। उक्त निवेदनका आधारमा डा. केसी प्रहरी महानिरीक्षक रहेको व्यहोरा स्पष्ट पार्दै अदालतको निवेदन तथा आदेशमा आवश्यक संशोधन गरिएको थियो।
तर, म्याद तामेलीको प्रक्रिया पूरा नभएकाले मुद्दाको सुनुवाइ आजका लागि अघि बढ्न सकेन। अब सुनुवाइको नयाँ मिति अदालतले तोक्नेछ।