काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम बेवास्ता गर्ने ५६६ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले गरेको नियमित निगरानी र चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर नियमअनुसार कारबाही गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७ जना र तीव्र गतिमा सवारी हाँक्ने १२२ जना छन्।
त्यस्तै, सीसीटीभी निगरानीबाट पहिचान भएका ३७ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने २९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १० जना र सवारीको अवस्था ठीक नराख्ने १८ जना कारबाहीमा परेका छन्।
एकतर्फी सडकमा नियम मिच्ने चार जनासहित अन्य विभिन्न नियम उल्लङ्घन गर्ने २७९ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न चेकजाँच र निगरानीलाई निरन्तरता दिँदै आएको छ। प्रहरीले चालकलाई नियम पालना गरेर मात्र सवारी चलाउन आग्रह गरेको छ।
सवारी नियमको पालना चालकलाई जरिवानाबाट जोगिने उपाय मात्र नभई पैदलयात्रीसहित सबै सडक प्रयोगकर्ताको जीवन सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार बन्न प्रहरीले सबैमा अनुरोध गरेको छ।