म्याग्दी । असोजको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वारदेखि खोप्रा जोड्ने पदमार्ग स्थानीयवासीको श्रमदानबाट पुनः सञ्चालनमा आएको छ।
पाउद्वारका बासिन्दाले पाउद्वार–हिलडाँडा–लरेनी खण्डमा पहिरो पन्छाउनुका साथै वैकल्पिक बाटो बनाएर आवागमन सहज बनाएका हुन्। पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनका अनुसार दुई सय घरपरिवार रहेको गाउँमा पदमार्गसँगै विद्युत् र खानेपानीका संरचना मर्मत गर्न पनि श्रमदान अभियान चलिरहेको छ।
स्थानीय प्रभा तिलिजा पुनले दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर बाटो खुलाइएको बताइन्। पदमार्ग खुलेपछि पर्यटकको आवागमन सहज हुनुका साथै स्थानीयलाई घाँसदाउरा गर्न र गोठसम्म पुग्न पनि सजिलो भएको छ।
समुद्री सतहबाट तीन हजार ५६० मिटर उचाइमा रहेको खोप्रा अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्य हो। यहाँबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटकहरू खोप्राबाट करिब चार हजार ६०० मिटर उचाइमा रहेको खयरतालसम्म पनि पुग्ने गर्छन्।
खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनका अनुसार पछिल्लो समय पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ। स्थानीय व्यवसायीले पनि पहिरोका कारण वरपरका सडक तथा बस्ती प्रभावित भए पनि खोप्रालगायत पर्यटकीय स्थल सुरक्षित रहेको बताएका छन्।
असोज–कात्तिक र चैत–वैशाखलाई खोप्रा–खयर पदमार्गको मुख्य पर्यटकीय याम मानिन्छ।