काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापामाथि सरकारले अनुचित कदम चाल्न खोजे कांग्रेसले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले थापालाई पक्राउ गर्ने प्रयास भए पार्टी मौन नबस्ने बताएका हुन्। उनले सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भए त्यसको दृढतापूर्वक सामना गर्ने स्पष्ट पारे।
राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबीसमेत गरे। उनले सरकारलाई राजनीतिक प्रतिशोधबाट प्रेरित कुनै कदम नचाल्न आग्रह गर्दै त्यस्तो अवस्था आए विरोधमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।