काठमाडौं । नापी विभागले गत असोजमा गरेको ८५७ जना कर्मचारीको सरुवा निर्णय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बदर गरेको छ। सरुवामा असमानता र पहुँचका आधारमा पदस्थापन गरिएको भन्दै कर्मचारीबाट व्यापक गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय लिएको हो।
गत २०८३ असोज २३ गते विभिन्न तहका कर्मचारीको सरुवा गरिएको थियो। तर, सुगम र सुविधासम्पन्न कार्यालयमा कार्यरत कर्मचारी पुनः त्यस्तै स्थानमा खटाइएको तथा दुर्गममा कार्यरत कर्मचारीका माग बेवास्ता गरिएको भन्दै मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको थियो।
गुनासो सम्बोधन गर्न विभागले असोज २६ गते सात दिनको समय दिएर कर्मचारीसँग उजुरी मागेको थियो। त्यस क्रममा दुई सयभन्दा बढी कर्मचारीले सरुवा पुनरावलोकनको माग गर्दै निवेदन दिएका थिए।
प्राप्त उजुरी र गुनासोका आधारमा मन्त्रालयले पुरानो सरुवा सूची नै खारेज गर्ने निर्णय गरेको हो।
सरुवा प्रक्रिया व्यवस्थित र निष्पक्ष बनाउन मन्त्रालयको निर्देशनमा विभागले ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ समेत स्वीकृत गरी जारी गरेको छ। अब नयाँ मापदण्डअनुसार मात्रै पारदर्शी र न्यायोचित ढंगले कर्मचारी सरुवा गर्न विभागलाई निर्देशन दिइएको छ।
सरुवा प्रणालीलाई पहुँच र व्यक्तिगत प्रभावबाट मुक्त गर्दै मापदण्डमा आधारित बनाउन यो कदम चालिएको मन्त्रालयको निर्णयले संकेत गरेको छ।