काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना अघि नबढे मधेशमा आन्दोलन चर्किन सक्ने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजनाबारे सरकारले स्पष्ट निर्णय लिनुपर्ने भन्दै उनले निर्माणको कार्ययोजना र समयसीमा सार्वजनिक गर्न माग गरेका हुन् ।
मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले आयोजना रद्द गर्ने अवस्था आए मधेशमा आन्दोलनबाहेक अर्को विकल्प नरहने बताए । उनका अनुसार यो परियोजना मधेशका किसान र सर्वसाधारणको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण आयोजना हो ।
उनले आयोजना प्रभावित हुनुको कारण, यसको वर्तमान अवस्था र अबको निर्माण योजनाबारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने बताए । लामो समयसम्म अन्योल कायम रहँदा स्थानीय बासिन्दा र किसानमा निराशा बढेको उनको भनाइ थियो ।
करिब ६ वर्षअघि सुरु गरिएको सुनकोशी–मरिण आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका विभिन्न क्षेत्रमा करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ । यसबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना पनि छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको परियोजनाको ठेक्का रद्द भएपछि निर्माणको भविष्य अन्योलमा परेको हो । आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते सम्पन्न भए पनि त्यसपछि निर्माणले अपेक्षित गति लिन नसकेको भन्दै झाले सरकारको ध्यानाकर्षण गराए ।
ब्रेक थ्रु सम्पन्न भएको लामो समय बितिसक्दा पनि आयोजना अघि नबढ्नुको कारणबारे उनले प्रश्न उठाए । आयोजना किन रोकिएको हो, अब कसरी अघि बढ्छ र निर्माणको आगामी समयसीमा के हो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ ।
सिँचाइ, कृषि उत्पादन र ऊर्जा विकाससँग जोडिएको यो परियोजनाको भविष्यबारे सरकारको मौनताले मधेशमा असन्तुष्टि बढाउन सक्ने संकेत गर्दै झाले आयोजना कार्यान्वयनमा गम्भीर हुन आग्रह गरेका छन् ।