काठमाडौँ । भारतको दुईदिने भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री बालेन्द्र शाह भारतीय जेनजी अभियन्तासँग जोडिएको विवादमा तानिएका छन् । भारतीय सरकारले युवा अभियन्ता सौरभ दासलाई बेलायतमा हुने कार्यक्रममा सहभागी हुन रोक लगाएको विषयमा लोकसभा सांसद महुवा मोइत्राले प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएकी छन् ।
अल इन्डिया तृणमूल कांग्रेसकी सांसद मोइत्राले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहलाई मेन्सन गर्दै भारतीय युवाप्रति भारत सरकारको व्यवहारमाथि प्रश्न उठाएकी हुन् ।
उनले युवा आन्दोलनबाट नेतृत्वमा पुगेर प्रधानमन्त्री बनेका शाहलाई भारतीय युवाले भोगिरहेको अवस्थातर्फ पनि ध्यान दिन आग्रह गरेकी छन् ।
ककरोच जनता पार्टीका प्रमुख प्रवक्ता सौरभ दासलाई बेलायत र स्कटल्यान्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन भारत सरकारले रोक लगाएको विषय सार्वजनिक भएपछि यो विवाद चर्किएको हो । दासलाई लन्डनस्थित अक्सफोर्ड युनियनको कार्यक्रममा सम्बोधन गर्न जान नदिइएको सांसद मोइत्राको भनाइ छ ।
मोइत्राले दासकी आमा नेपाली मूलकी भएकै कारण उनलाई भारत सरकारले अपमानजनक व्यवहार गरेको आरोपसमेत लगाएकी छन् ।

यता सौरभ दासले पनि सामाजिक सञ्जालमार्फत भारत सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । आफूलाई लन्डन जान रोक लगाइएको भन्दै उनले सरकारलाई बौद्धिक गतिविधि र युवा आवाजसँग डराएको आरोप लगाएका छन् ।
दासले आफ्नो अभिव्यक्तिमा भारत सरकारप्रति कडा आलोचना गर्दै आफूलाई कार्यक्रममा सहभागी हुनबाट रोक्नु अनुचित भएको बताएका छन् ।

भारतीय आन्तरिक राजनीतिक विवादसँग जोडिएको यो विषयमा नेपाली प्रधानमन्त्रीलाई समेत सार्वजनिक रूपमा जोडिएपछि चासो बढेको छ । यद्यपि प्रधानमन्त्री बालेन्द्र शाहले यस विषयमा अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।