गोरखा । बूढीगण्डकीको बाढीले घरबारविहीन बनाएका गोरखाको चुमनुब्री गाउँपालिका–३ जगतका परिवारमाथि अर्को विपत्ति थपिएको छ । डेढ महिनादेखि त्रिपालमुनि आश्रय लिइरहेका पाँच परिवारको बासस्थानसमेत हावाहुरीले उडाएपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
गत असोज २५ गतेको बाढीले घर बगाएपछि जगत गाउँको पहराको फेदमा त्रिपाल टाँगेर बस्दै आएकी लालमाया गुरुङ अहिले झन् समस्यामा परेकी छन् ।
बिहान करिब ३ बजेतिर एक्कासि चलेको हावाहुरीले त्रिपालसँगै राहतमा पाएका लत्ताकपडा र ओढ्ने–ओछ्याउने सामग्रीसमेत उडाएको उनले बताइन् ।
'सुरुमा फेरि बाढी आएछ कि भनेर बाहिर हेर्न उठेँ । पछि हावा चलेको रहेछ भन्ने थाहा भयो । तर केही बेरमै त्रिपाल नै उडाएर लग्यो,' लालमायाले आफ्नो पीडा सुनाइन् ।
त्रिपाल उडेपछि आफूहरू फेरि आश्रयविहीन बनेको उनको दुखेसो छ । बाढीबाट जोगिएका भाँडाकुँडा र खाद्यान्न भने अन्य सुरक्षित घरमा राखिएकाले जोगिएको उनले बताइन् ।
स्थानीय विशाल घलेका अनुसार हावाहुरीले जगतका तीन र पैँयु सल्लेरीका दुई परिवारले आश्रय लिँदै आएका त्रिपाल उडाएको छ । यसले बाढीपीडित परिवारलाई पुनःस्थापनाको थप चुनौतीमा धकेलेको छ ।
हावाहुरीले निजी आवाससँगै विद्यालय भवनमा पनि क्षति पुर्याएको छ । धार्चे गाउँपालिका–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार धार्चे–५ का दुई बस्ती, धार्चे–३ को उहिया तथा चुमनुब्री–३ को जगत र सल्लेरीमा घर र विद्यालयका छानामा क्षति पुगेको छ ।
जिल्लाभर हावाहुरीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । बाढीको पीडाबाट अझै सामान्य जीवनमा फर्किन नसकेका परिवारलाई हावाहुरीले थप संकटमा पारेको छ ।