काठमाडौँ । इनर्जी ड्रिंक बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने लक्ष्यसहित एक्सट्रिमले पाँच नयाँ स्वाद सार्वजनिक गरेको छ । उत्पादन विविधीकरण र उपभोक्ताको रोजाइलाई ध्यानमा राख्दै कम्पनीले नयाँ स्वाद बजारमा ल्याएको हो ।
मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीकी बिजनेस हेड सोनिया राणालगायतले नयाँ उत्पादन सार्वजनिक गरेका हुन् । नयाँ स्वादको सार्वजनिकसँगै कम्पनीले उपभोक्ताका लागि आकर्षक पुरस्कार योजना पनि अघि सारेको छ ।
कम्पनीले ‘स्क्यानमा सुन’ नाम दिएर तीनमहिने प्रवर्द्धनात्मक अभियान सुरु गरेको जनाएको छ । यस अभियानअन्तर्गत छ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान जित्ने अवसर पाउनेछन् ।
नयाँ उत्पादनको बजार प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले ‘विन्टर एडिसन’ अभियानसमेत सञ्चालनमा ल्याएको छ ।
नयाँ स्वाद सार्वजनिक कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएको थियो । उत्पादन विस्तार र पुरस्कार योजनामार्फत एक्सट्रिमले उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउँदै बजारमा आफ्नो पहुँच विस्तार गर्ने रणनीति अघि सारेको देखिन्छ ।