काठमाडौं । संघीय राजधानी काठमाडौंलाई चौबीसै घण्टा चलायमान बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयले नयाँ सुरक्षा तथा व्यवस्थापन योजना अघि बढाएको छ। रात्रिकालीन व्यापार, पर्यटन, उद्योग र सांस्कृतिक गतिविधिलाई विस्तार गर्दै सहरलाई रातभर सक्रिय राख्ने तयारी थालिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार यसका लागि अवधारणापत्र तयार भइरहेको छ। सहरलाई २४ घण्टा खुला राख्ने विषय सामान्य नभएकाले सुरक्षा, पूर्वाधार र प्रशासनिक सेवासहितको समग्र योजना बनाइँदै छ।
प्रशासनले यसैक्रममा ‘काठमाडौं सुरक्षा रणनीति–२०८३’ निर्माण गरिरहेको छ। रातको समयमा प्रहरी परिचालन बढाउने, सडक बत्ती थप्ने, सीसीटीभी क्यामेरा विस्तार गर्ने तथा अपराध बढी हुने सम्भावित क्षेत्र पहिचान गरी निगरानी बढाउने योजना छ।
काठमाडौंका सबै क्षेत्रलाई एउटै नियममा सञ्चालन गर्न नसकिने भएकाले व्यापारिक, औद्योगिक, धार्मिक, ऐतिहासिक र आवासीय क्षेत्रको छुट्टाछुट्टै वर्गीकरण गरिने भएको छ। त्यसका आधारमा कुन क्षेत्रमा कस्ता गतिविधि सञ्चालन गर्न दिने भन्ने कार्यविधि तयार पारिनेछ।
योजनालाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिका, अन्य स्थानीय तह र यातायात व्यवसायीसँग समेत समन्वय गरिनेछ। सहर चौबीसै घण्टा खुला हुँदा प्रशासनिक सेवा पनि सोहीअनुसार सञ्चालन गर्नुपर्ने अवधारणा अघि सारिएको छ। रातिको समयमा हुने घटनाको उजुरी र सेवा प्रवाहका लागि नागरिकलाई बिहानसम्म कुर्नुपर्ने अवस्था अन्त्य गर्ने प्रशासनको सोच छ।
यस योजनामा घरधनीलाई समेत सुरक्षा व्यवस्थापनको जिम्मेवारी दिइने भएको छ। मुख्य सडकसँग जोडिएका घरहरूमा कम्तीमा चारवटा बत्ती राख्न लगाउने तयारी छ। दुईवटा घरतर्फ र दुईवटा सडकतर्फ फर्काएर बाल्नुपर्ने प्रस्ताव गरिएको छ। यसबाट सडक उज्यालो हुनुका साथै चोरी तथा डकैतीजस्ता अपराध नियन्त्रणमा सहयोग पुग्ने प्रशासनको अपेक्षा छ।
त्यस्तै, सीसीटीभी विस्तारका लागि स्थानीय तहलाई जिम्मेवार बनाउने र सम्भावित भीडभाड हुने स्थानको पहिचान गरी व्यवस्थापन गर्ने तयारी छ।
यसअघि ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरिएको थियो। अहिले पनि ती क्षेत्रका केही पब तथा डिस्को रातभर सञ्चालनमा छन्। तर, ठमेल क्षेत्रमा रातिको समयमा हुने गतिविधिबारे गुनासो बढेपछि प्रशासनले अनुगमनलाई तीव्र बनाउने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष अनुगमन टोली गठन गरिएको छ।
काठमाडौंलाई रातभर खुला राख्ने योजनाले पर्यटन, रोजगारी र व्यापारिक गतिविधि विस्तार गर्ने सम्भावना बोकेको छ। तर, सुरक्षा चुनौती, ध्वनि प्रदूषण, यातायात व्यवस्थापन र स्थानीय बासिन्दाको सहजतालाई कसरी सन्तुलनमा राखिन्छ भन्ने विषय यसको सफल कार्यान्वयनका लागि निर्णायक हुनेछ।