काठमाडौँ । भारतबाट प्राप्त हुने १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण नेपालले आवश्यकता र आयोजना निर्माणको प्रगतिका आधारमा परिचालन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम विशेषगरी ऊर्जा तथा पूर्वाधार विकासमा उपयोग गरिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूलाई जानकारी दिँदै मन्त्री वाग्लेले नेपालले भारतबाट ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त गर्ने बताए ।
उनका अनुसार भारतको लाइन अफ क्रेडिटमार्फत प्राप्त हुने ऋण विद्युत् प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा उपयोग गर्न सकिनेछ । नेपालमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेकाले त्यसका लागि आवश्यक लगानी जुटाउन यो सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
यस ऋणको अर्को विशेषता भारतीय रुपैयाँमै प्राप्त गर्ने र भुक्तानी गर्न सकिने व्यवस्था हो । अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावले वित्तीय दायित्व बढाउने जोखिम रहने उल्लेख गर्दै मन्त्री वाग्लेले भारतीय मुद्रामै कारोबार हुनु नेपालको हितमा रहेको बताए ।
यद्यपि ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडबारे प्राविधिक छलफल हुन बाँकी रहेको उनले स्पष्ट पारे । यसअघि भारतको लाइन अफ क्रेडिटबाट सडक निर्माण गर्दा स्थानीय सामग्रीको प्रयोग र ठेकेदारसम्बन्धी सर्तले समस्या सिर्जना गरेको अनुभव रहे पनि ऊर्जा आयोजनामा यसको प्रभावकारी उपयोग गर्न सकिने उनको विश्वास छ ।
यसैबीच, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु पनि भारत भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको मन्त्री वाग्लेले बताएका छन् । यसले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र आवागमन सहज बनाउन थप अवसर सिर्जना गर्ने उनको भनाइ छ ।
भारतसँग भएका आर्थिक तथा कूटनीतिक सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके नेपालको ऊर्जा उत्पादन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।