काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले नियमित रूपमा बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ।
राष्ट्रिय कर दिवस, २०८३ को सप्ताहव्यापी कार्यक्रम समापनका अवसरमा सोमबार आयोजित समारोहमा उनीहरूलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको हो।
सम्मानित हुनेमा झापाको एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामको अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङको आशिका आयल सप्लायर्स र पाँचथरको श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन्। कार्यक्रममा कार्यालयका नायब सुब्बा टीकाराम दाहाललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो।
समारोहमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमान्दारीपूर्वक कर तिर्नु नागरिकको जिम्मेवारी मात्र नभई राष्ट्रको समृद्धिमा योगदान गर्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले करदातालाई सन्तुष्ट बनाउँदै पारदर्शी, न्यायपूर्ण र छिटोछरितो कर प्रशासन सञ्चालन गर्नुपर्नेमा जोड दिए।
आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले करलाई राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको आधारका रूपमा व्याख्या गरे।
नागरिकले आफूले तिरेको कर सही ठाउँमा खर्च भएको अनुभूति गर्न सके मात्रै कर प्रणालीप्रतिको विश्वास बलियो हुने उनको भनाइ थियो। कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मानसँगै कर शिक्षा कार्यक्रम र अन्तरक्रियालगायत गतिविधि सञ्चालन गरेको पनि उनले जानकारी दिए।