काठमाडौं । अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ माथिको दफावार छलफल प्रतिनिधिसभाको अर्थ समितिमा सकिएको छ। समितिले आवश्यक संशोधनसहित विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
समितिको बैठकमा विभिन्न दफामाथि विस्तृत छलफलपछि विधेयक पारित गरिएको सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिएका छन्।
विधेयकले राजस्व प्रशासनलाई आधुनिक र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। यसमा कर तथा भन्सार प्रणाली सुधार, राजस्व चुहावट नियन्त्रण, गैरकर राजस्व व्यवस्थापन र आर्थिक गतिविधिलाई सहज बनाउने व्यवस्था समेटिएका छन्।
त्यसैगरी समयअनुकूल नरहेका पुराना कानुनी प्रावधान हटाउने तथा राजस्व प्रशासनलाई पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाउने विषयलाई पनि प्राथमिकता दिइएको सभापति बुढाथोकीले बताए।
समितिले विधेयक पारित गरेसँगै अब त्यससम्बन्धी प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढ्ने भएको छ। बैठकले आगामी बैठकमा प्रतिवेदन पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतको सहभागिता रहेको थियो।