काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई आफूलाई पक्राउ गर्ने हिम्मत भए हतकडीसहित आउन चुनौती दिएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले विपक्षीको आवाज दबाउने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।
सरकारका कुनै पनि व्यक्तिले तर्साउन खोजे गलत पार्टी र गलत व्यक्ति रोजेको उनको भनाइ थियो । सरकारलाई आवश्यक ठाउँमा सहयोग गर्ने र गलत कामको खुलेर विरोध गर्ने नीति कांग्रेसले लिने उनले स्पष्ट पारे ।
थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आन्तरिक समस्यामा कांग्रेस नपस्ने र प्रतिपक्षी दलहरूको छुट्टै गठबन्धन बनाउने पक्षमा पनि नरहेको बताए । सरकार र नागरिकबीच देखिएका दूरी तथा कमजोरी औँल्याउनु प्रतिपक्षको जिम्मेवारी भएको उनको भनाइ थियो ।
सरकारको सुकुम्बासी व्यवस्थापन नीतिमाथि प्रश्न उठाउँदै थापाले अदालतको आदेश हुँदाहुँदै घरबार भएका मानिसलाई विस्थापित गरिएको विषयमा जवाफ मागे । अध्यादेश ल्याएपछि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक किन अघि नबढाइएको भन्दै उनले सरकारको कार्यशैलीमाथि पनि प्रश्न गरे । भदौ २३ र २४ गतेका घटनासम्बन्धी अध्यादेशबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने उनको धारणा थियो ।
सरकारले आफ्ना निकट व्यक्ति वा पार्टीमा आबद्ध भएकै आधारमा कसैलाई संरक्षण गर्न नहुनेमा पनि उनले जोड दिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा उठाएको यही मान्यता अहिले प्रधानमन्त्री बालेन शाह र रास्वपाको नेतृत्वमा पनि लागू हुनुपर्ने थापाको भनाइ थियो ।
सरकारलाई निजी कम्पनी जसरी सञ्चालन गर्न खोजिए कांग्रेसले विरोध गर्ने चेतावनी दिँदै उनले सरकार र प्रतिपक्ष दुवैले आ–आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
यसैबीच, निवर्तमान सभापति शेरबहादुर देउवाको पछिल्लो अभिव्यक्तिप्रति पनि थापाले असन्तुष्टि व्यक्त गरे । लोकतान्त्रिक आन्दोलनमा देउवाको योगदानको सम्मान गर्दै उनले आफ्नो राजनीतिक मर्यादा र उचाइ कायम राख्न आग्रह गरे ।
जेनजी आन्दोलनका क्रममा देउवाको घरमा भएको आगजनीलाई लिएर आफूले जलाएको भन्ने भिडियो भाइरल हुँदा देउवाले समेत त्यसलाई समर्थन गरेजस्तो देखिएको भन्दै थापाले चिन्ता व्यक्त गरे ।
पार्टीभित्रको असन्तुष्टिबारे बोल्दै थापाले विशेष महाधिवेशनमा छुटेका नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्न आफू तयार रहेको बताए । असन्तुष्ट पक्षसँग संवाद गरेर संगठनलाई एकताबद्ध बनाउने उनको प्रतिबद्धता थियो ।
कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरावलोकनका लागि अदालतबाट निस्सा प्राप्त भएको विषयमा नेताहरूमा देखिएको अन्योलबारे पनि उनले धारणा राखे । संसद् पुनःस्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन आफ्नै नेतृत्वमा हुने दाबी गरे । पार्टीका नेता तथा कार्यकर्तालाई अनावश्यक भ्रममा नपर्न उनको आग्रह थियो ।