काठमाडौं । सरकारको शक्ति असीमित हुँदैन, त्यसको सीमा संविधान र कानुनले निर्धारण गर्छ। यही सन्देश दिँदै नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारलाई निरंकुशता, स्वेच्छाचारिता र अराजकताको बाटोमा नहिँड्न चेतावनी दिएकी छन्।
एमालेको राष्ट्रिय कार्यकर्ता भेलाको दोस्रो दिन बन्दसत्रलाई सम्बोधन गर्दै भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहमतिबिना संविधान संशोधनजस्ता दूरगामी महत्वका विषय अघि बढाउँदा राजनीतिक अविश्वास सिर्जना हुने बताइन्।
उनले लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षको सम्मान अनिवार्य रहेको उल्लेख गर्दै सरकारलाई संवैधानिक सीमाभित्र रहेर काम गर्न आग्रह गरिन्। संवैधानिक निकायको स्वतन्त्रता र मर्यादा कायम राख्नुका साथै राज्यका कुनै पनि निकाय संविधानभन्दा माथि हुन नसक्ने उनको भनाइ थियो।
सरकारका निर्णय र गतिविधि संविधान, कानुन तथा लोकतान्त्रिक उत्तरदायित्वको सीमाभित्र हुनुपर्नेमा जोड दिँदै भण्डारीले भनिन्, ‘जुनसुकै रूपमा प्रकट हुने निरंकुशता, स्वेच्छाचारिता र अराजकता नेकपा एमालेलाई स्वीकार्य हुँदैन।’
उनको अभिव्यक्तिले संविधान संशोधन, सरकारको कार्यशैली र लोकतान्त्रिक संस्थाहरूको स्वतन्त्रताबारे एमालेको धारणा स्पष्ट पारेको छ।