काठमाडौं । जेनजी आन्दोलन आउँदैछ भन्ने संकेत पहिल्यै पाएका थियौँ, तर त्यसलाई सही समयमा नेतृत्व दिन सकेनौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे पार्टीको कमजोरी स्वीकार गर्दै यस्तो बताएका हुन्।
दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पुनले युवाहरूमा बढिरहेको असन्तुष्टि र आक्रोशबारे आफूहरूले आन्दोलन हुनुभन्दा एक वर्षअघिदेखि नै सार्वजनिक रूपमा आवाज उठाउँदै आएको बताए।
उनका अनुसार तत्कालीन सरकारको कार्यशैली, भ्रष्टाचार, नातावाद, कृपावाद, बिचौलिया प्रवृत्ति र आसेपासे पुँजीवादले युवामा असन्तुष्टि चुल्याएको थियो। विश्व राजनीतिमा देखिएको शक्ति संघर्ष र प्रविधिको परिवर्तनले पनि युवाको सोच र विद्रोही चेतनालाई प्रभावित पारेको उनको विश्लेषण छ।
पुनले जेनजी आन्दोलन हुनुअघि सुशासनको मुद्दा आफ्नो पार्टीले उठाउँदै आएको स्मरण गरे। तर आन्दोलनको परिस्थिति बुझेर पनि त्यसलाई राजनीतिक रूपमा नेतृत्व गर्न नसक्नु कमजोरी भएको उनको भनाइ थियो।
उनले भने, ‘जेनजी आन्दोलन हुनुअघि सुशासनको नारा हाम्रै थियो।’
भदौ २३ गते युवामाथि भएको दमन र मृत्युको घटनापछि आफूहरूले सामाजिक सञ्जाल खुलाउन तथा तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग गर्नुपर्ने धारणा राखेको पुनले बताए। घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने र दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने मागसमेत गरेको उनको भनाइ छ।
तर भोलिपल्टै सडकमा पुगेर आन्दोलनको नेतृत्व लिन नसकिएकोमा उनले आत्मसमीक्षा गरे। मार्क्सवादी विश्लेषणमा मात्रै सीमित हुँदा बदलिँदो परिस्थितिलाई राजनीतिक नेतृत्व दिन पछि परेको उनको स्वीकारोक्ति थियो।
पुनले आन्दोलनको पहिलो दिन युवाहरूको स्वाभाविक आक्रोश अभिव्यक्त भएको तर दोस्रो दिन घुसपैठ भएर संविधान र व्यवस्था नै समाप्त पार्ने दिशातर्फ परिस्थिति मोडिएको दाबी गरे।
आन्दोलनपछि पुराना राजनीतिक दल र नेताहरूलाई एउटै रूपमा हेर्ने धारणा बलियो बनेको उल्लेख गर्दै उनले नयाँ राजनीतिक परिस्थितिअनुसार पार्टीले आफ्नो कार्यशैली र दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए।
पुनको यो अभिव्यक्ति जेनजी आन्दोलनको समयमा राजनीतिक दलहरूले खेलेको भूमिकामाथि गरिएको महत्त्वपूर्ण आत्मस्वीकारोक्तिका रूपमा आएको छ।