काठमाडौं । जापानमा नेपालीको संख्या तीन लाख नाघिसकेको छ। तर, त्यति ठूलो नेपाली समुदायलाई सेवा दिन टोकियोस्थित नेपाली दूतावासमा चार जना मात्रै कूटनीतिक कर्मचारी कार्यरत रहेको तथ्य सार्वजनिक भएको छ। अर्कोतर्फ, दूतावासमा करिब दुई करोड रुपैयाँ बेरुजु रहेको विषयले पनि संसदीय चासो बढाएको छ।
दूतावासको आर्थिक अवस्था, बेरुजु फछ्र्योट र जनशक्ति व्यवस्थापनबारे अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको पाँच सदस्यीय टोलीले जापान भ्रमण गरेको छ।
जापानस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा कार्यवाहक राजदूत हरिहरकान्त पौडेलका अनुसार दूतावासमा रहेको बेरुजु नयाँ नभई विगतदेखिकै हो। यसको रकम करिब दुई करोड रुपैयाँ रहेको उनले जानकारी दिए। यद्यपि, यकिन रकम भने आफूलाई थाहा नभएको उनको भनाइ छ।
संसदीय टोलीले बेरुजु कुन शीर्षकमा छ, त्यसको कारण के हो र कति रकम नियमित वा असुलउपर गर्नुपर्ने हो भन्ने विषयमा जानकारी लिएको थियो।
बेरुजु देखिनु मात्रै रकम हिनामिना भएको प्रमाण होइन। लेखापरीक्षणमा कागजात अपुग, प्रक्रिया नपुगेको खर्च वा अन्य वित्तीय कमजोरी देखिएमा पनि बेरुजु कायम हुन सक्छ। त्यसैले यसको शीर्षकगत विवरण र फछ्र्योटको अवस्था सार्वजनिक हुनु आवश्यक देखिन्छ।
तीन लाखभन्दा बढी नेपाली, कर्मचारी चार जना मात्रै
जापानमा नेपालीको संख्या तीव्र गतिमा बढिरहेको छ। सन् २०२६ जुन मसान्तसम्मको जापानी अध्यागमन तथ्यांकअनुसार त्यहाँ नेपालीको संख्या ३ लाख ३४ हजार ८५० पुगेको छ।
सन् २०२५ को अन्त्यसम्म ३ लाख ९९२ रहेको नेपाली जनसंख्या २०२६ को पहिलो छ महिनामै ३३ हजार ८५८ ले बढेको हो। यससँगै नेपाली समुदाय जापानमा रहेका विदेशी समुदायमध्ये पाँचौँ ठूलो बनेको छ।
तर, यति ठूलो जनसंख्याको राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कन्सुलर सेवा र अन्य प्रशासनिक कामका लागि दूतावासमा चार जना मात्रै कूटनीतिक कर्मचारी छन्।
कार्यवाहक राजदूत पौडेलले करिब तीन लाख नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासमा नौ जना कूटनीतिक कर्मचारी रहेको उदाहरण दिँदै जापानमा पनि जनशक्ति थप्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनका अनुसार जापानमा नेपालीको संख्या बढेसँगै सेवा माग पनि बढिरहेको छ। विद्यार्थी, श्रमिक, व्यवसायी र परिवारसहित बसोबास गर्ने नेपालीलाई प्रभावकारी सेवा दिन थप कर्मचारी आवश्यक भए पनि यसबारे अन्तिम निर्णय सरकारले नै गर्नुपर्ने हुन्छ।
श्रीलंका र मलेसियापछि जापान पुगेको टोली
सार्वजनिक लेखा समितिका सदस्य यज्ञराज बोगटी, महेन्द्रबहादुर शाही र प्रेमलाल चौधरीसहित संसद् सचिवालय र परराष्ट्र मन्त्रालयका एक–एक कर्मचारी अध्ययन टोलीमा सहभागी थिए। टोलीले श्रीलंका र मलेसियापछि जापानको भ्रमण गरेको हो।
भ्रमणका क्रममा दूतावासले आवश्यक विवरण उपलब्ध गराएको पौडेलले बताएका छन्। अध्ययनपछि समितिले आर्थिक व्यवस्थापन सुधार, बेरुजु फछ्र्योट र जनशक्ति थप गर्ने विषयमा सरकारलाई सुझाव तथा निर्देशन दिन सक्नेछ।
अब मुख्य प्रश्न दुई करोड रुपैयाँ हाराहारीको बेरुजु किन र कुन शीर्षकमा कायम छ भन्ने स्पष्ट पार्नुका साथै तीन लाखभन्दा बढी नेपालीको सेवाका लागि दूतावासको क्षमता कहिले विस्तार हुन्छ भन्ने हो।