काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा महत्वपूर्ण भेटवार्ता हुँदैछ। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत पुगेका शाहले बिहान ११ः१५ बजे मोदीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
करिब एक घण्टा हुने प्रारम्भिक भेटपछि दुवै प्रधानमन्त्रीबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यतालिका छ।
यसपटक प्रधानमन्त्री शाहले भारतसँगको सम्बन्धलाई आर्थिक विकास र ठोस परियोजनासँग जोड्ने एजेन्डा अघि सारेका छन्। ऊर्जा, जलविद्युत् लगानी, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, व्यापार, प्रविधि, कनेक्टिभिटी, क्रिकेट र स्टार्टअपलाई नेपालको प्राथमिकतामा राखिएको छ।
त्यसैगरी, ऊर्जा तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र मानव संशाधनका क्षेत्रमा पनि दुई देशबीच समझदारी आदानप्रदान हुने अपेक्षा गरिएको छ।
मोदीसँगको भेटअघि प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा औपचारिक गार्ड अफ अनर ग्रहण गर्नेछन्। त्यसपछि राजघाट पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
द्विपक्षीय वार्ता र सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनी स्वदेश फर्किने कार्यक्रम छ।
यसअघि आइतबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतीय केन्द्रीय राज्यमन्त्री जितिन प्रसादसहित दुवै देशका कूटनीतिक अधिकारीले स्वागत गरेका थिए।
भारत पुगेपछि होटल ताजमा केही समय विश्राम गरेका शाहले साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेका थिए। उक्त भेटमा व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
भेटपछि विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपालसँगको विशेष मित्रतालाई भारतले महत्व दिने उल्लेख गर्दै प्रधानमन्त्री मोदीसँगको भेटवार्ताको प्रतीक्षामा रहेको बताएका थिए।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई परम्परागत कूटनीतिक सम्बन्धभन्दा माथि उठेर आर्थिक साझेदारी, पूर्वाधार विकास र दीर्घकालीन सहकार्यका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा हेरिएको छ।