गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा मंगलबार बिहान चलेको तीव्र हावाहुरीले विद्यालयसहित स्थानीयका घर तथा गोठमा क्षति पुर्याएको छ।
मंगलबार बिहान करिब २ देखि ३ बजेको बीचमा सुरु भएको हावाहुरीले सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छानामा लगाइएको जस्तापाता उडाएको छ। गाउँका केही कच्ची घर र गोठका छाना पनि हावाहुरीले क्षतिग्रस्त बनाएको स्थानीय शिक्षिका सपना गुरुङले जानकारी दिइन्।
उनका अनुसार बिहान घाम लागेर आकाश खुले पनि हावाको वेग कम भएको छैन। मौसम सफा रहेकै अवस्थामा लगातार तीव्र हावा चलिरहेकाले स्थानीय त्रसित छन्।
हावाहुरीले नजिकैको जंगलका सुकेका पातपतिङ्गरसमेत उडाएर गाउँभरि छरिदिएको छ। मंसिर महिनामा यसरी विनाशकारी हावाहुरी चलेको आफूले पहिलोपटक अनुभव गरेको शिक्षिका गुरुङले बताइन्।
हावाहुरीबाट भएको कुल क्षतिको विवरण भने आउन बाँकी छ।