काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गमा पहिरो र लेदो हटाएपछि आइतबार बेलुकादेखि यातायात पुनः सञ्चालनमा आएको छ।
शुक्रबार र शनिबारको वर्षाले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा ढुंगा र लेदो थुप्रिएको थियो। त्यसपछि शनिबार बिहानदेखि यस खण्डमा आवागमन रोकिएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानदेखि डोजरको सहायताले सडक सफाइ सुरु गरिएको थियो। सडक खुलाउन सुरक्षाकर्मी र प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो।
रोसी गाउँपालिका–९ पिन्थलीमा खहरे खोलाले बगाएर ल्याएको ढुंगा र माटोसहितको लेदो तथा वडा नं. ८ गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि सवारी सञ्चालन सम्भव भएको प्रहरीले जनाएको छ।