नयाँदिल्ली । भारत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।
नयाँदिल्लीस्थित होटल ताजमा भएको भेटमा नेपाल–भारतबीच सोमबार हुने उच्चस्तरीय द्विपक्षीय वार्ताको तयारी र त्यसमा उठाइने प्रमुख विषयबारे छलफल भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी मन्त्री खनाल र जयशंकरबीचको छलफलमा दुवै देशका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबीच हुने औपचारिक वार्ताका एजेन्डा, साझा प्राथमिकता र सम्भावित समझदारीका विषय समेटिएका थिए।
त्यसैगरी, नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने, आपसी सहयोग विस्तार गर्ने र आगामी दिनमा अघि बढाउन सकिने विकास परियोजनाबारे पनि विचारविमर्श भएको जनाइएको छ।
यसअघि भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहसँग पनि सोही होटलमा शिष्टाचार भेट गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तालाई दुई देशबीचको सम्बन्ध र सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।