काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको प्रतिबद्धता र व्यवहारबीच ठूलो अन्तर देखिएको टिप्पणी गरेका छन्। बाढी गएको तीन महिना बितिसक्दा पनि प्रभावित परिवारको पुनर्स्थापनाका लागि ठोस कार्यक्रम नआएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
आइतबार नुवाकोटको त्रिशूलीस्थित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै थापाले पीडितको अवस्था अझै कष्टकर रहेको बताए। चिसो मौसम सुरु भइसक्दा पनि विस्थापित परिवारका लागि पुनर्वासको व्यवस्था नहुनु दुःखद भएको उनको भनाइ थियो।
प्रभावित नागरिकसँग प्रत्यक्ष भेटेर उनीहरूका समस्या सुनेका थापाले अब ढिलाइ नगरी राहत, पुनर्स्थापना र पुनर्वासका कार्यक्रम अघि बढाउन सरकारलाई आग्रह गरे।
उनले जनताको वास्तविक आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए।
सभापति थापा विज्ञ टोलीसहित नुवाकोट, रसुवा र धादिङका बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका हुन्। प्रभावित जिल्लाको स्थलगत अध्ययन तथा निरीक्षणका लागि उनी दोस्रोपटक नुवाकोट पुगेका हुन्।