काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा हवाई सम्पर्क विस्तारको विषयले प्राथमिकता पाए पनि नेपालले लामो समयदेखि माग्दै आएको नयाँ हवाई प्रवेशमार्गबारे सहमति जुट्न सकेको छैन।
विशेषगरी भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सहज बनाउन नेपालले सन् २०१४ देखि नै भारतसँग थप हवाई रुट माग्दै आएको छ। यसपटकको उच्चस्तरीय भ्रमणबाट ठोस निर्णय हुने अपेक्षा गरिए पनि त्यो पूरा हुन सकेन।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीसहित दुवै देशबीच यस विषयमा पटकपटक छलफल हुँदै आएको छ। नेपाली अधिकारीहरूले महेन्द्रनगर हुँदै नयाँ प्रवेशमार्ग उपलब्ध भए त्यसलाई भ्रमणको महत्त्वपूर्ण उपलब्धि मान्न सकिने बताएका छन्। यस विषयमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि छलफल गर्ने तयारी रहेको जनाइएको छ।
यसैबीच भारतले पश्चिम बंगालको बागडोगरा र बिहारको रक्सौल विमानस्थलमा उडान गर्न नेपाली आकाश प्रयोग गर्ने प्रस्ताव गरेको छ। नेपालले उक्त प्रस्ताव अध्ययन गरेर जवाफ दिने जनाएको छ।
तर, भारतको प्रस्तावमा सुरक्षा संवेदनशीलता जोडिएको छ। नेपाली आकाश प्रयोग गर्दा सैनिक विमानसमेत सञ्चालन हुन सक्ने र सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती बढ्न सक्ने विषयमा नेपालले गम्भीर अध्ययन गरिरहेको बताइएको छ।
बागडोगरा विमानस्थल चीनको सीमावर्ती क्षेत्रनजिक रहेकाले यस विषयमा चीनको चासोसमेत बढ्न सक्ने आकलन गरिएको छ।
लामो समयदेखि चर्चामा रहेको हवाई रुटको विषयमा सहमति नजुट्दा भैरहवा र पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारको अपेक्षा अझै अनिश्चित बनेको छ।