काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-६, तीनखण्डेमा टिपर दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये चालकसहित दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आइतबार साँझ करिब ५:२५ बजे घुर्मीबाट खाङसाङतर्फ जाँदै गरेको मधेस प्रदेश ०१–००१ ख ०६४७ नम्बरको टिपर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाका बेला टिपरमा चालकसहित चारजना सवार थिए।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७, टक्सारका २९ वर्षीय चालक महेश कटेल र सिन्धुलीको फिक्कल गाउँपालिका–५ का २९ वर्षीय माधव लुइँटेल गम्भीर घाइते भएका छन्।
त्यस्तै, उदयपुरको कटारी नगरपालिका–१४, बोटेनीका २६ वर्षीय दीपक जोशी र सिन्धुलीको दुधौली नगरपालिका–१४ का २८ वर्षीय हरि बानियाँ पनि घाइते भएका छन्। चारैजनालाई उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा पठाइएको प्रहरीले जनाएको छ।