काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन्।
दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सको सामना गर्नेछ। प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको काठमाडौंका लागि यो खेल महत्वपूर्ण छ। यसअघि काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
लगातार दुई खेल जितेको कर्णाली भने आजको खेलमा पनि जित निकाल्दै अंकतालिकाको शीर्ष स्थान कायम राख्ने योजनामा छ।
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। तीन खेल खेलेको सुदूरपश्चिमले अहिलेसम्म एक जित र दुई हार बेहोरेको छ। त्यसैले अंकतालिकामा आफ्नो अवस्था सुधार्न उसलाई आजको खेल जित्नुपर्ने दबाब छ।
यता चितवन राइनोज भने अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए। आजको खेल जित्दै चितवन आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ।