सोलुखुम्बु । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको ज्यान गएको हो। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा आपसमा ठोक्किएका थिए। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रारम्भिक जानकारीअनुसार दुवै हेलिकोप्टरका पंखा ठोक्किएको बताएका छन्।
घटनाबारे थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ। दुर्घटनाको विस्तृत कारण र अन्य विवरण भने आउन बाँकी छ।