काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट योजनासहित अघि बढाउनुपर्ने बताएका छन्। उनले बुटवल र दाङलाई प्रतिस्पर्धी बनाउनुको सट्टा दुवै क्षेत्रको सम्भावना उपयोग गरेर लुम्बिनी प्रदेशको समग्र विकास गर्नुपर्ने धारणा राखेका छन्।
प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले आफू मुख्यमन्त्री हुँदा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशकै ठूलो विकास परियोजनाका रूपमा अघि बढाएको स्मरण गरे।
उनले प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनुपर्ने बताउँदै राजनीतिक आग्रहभन्दा माथि उठेर साझा विकासका एजेन्डामा सहकार्य गर्न दलहरूलाई आग्रह गरे।
पोखरेलका अनुसार लोकतन्त्र सुदृढ बनाउन, संविधानको प्रभावकारी कार्यान्वयन गर्न र मुलुकको विकासलाई गति दिन राजनीतिक दलबीच संवाद र सहकार्य आवश्यक छ।