काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्की सरकारी निर्णयविरुद्ध न्यायिक लडाइँमा उत्रिएका छन्। आफूलाई पदबाट हटाएर डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुख नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै उनी बुधबार सर्वोच्च अदालत पुगेका हुन्।
कार्कीले आईजीपी पदमा पुनर्बहालीको मागसहित रिट निवेदन पेस गरेका छन्। उनी निकट अधिवक्ता टिकाबहादुर कुँवरले नियुक्तिसम्बन्धी सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको पुष्टि गरेका छन्।
सरकारको निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। कार्कीलाई भने आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएको थियो।
कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको अदालत प्रशासनले जनाएको छ। अब उनको माग र सरकारी निर्णयबारे अदालतले गर्ने सुनुवाइलाई चासोका साथ हेरिएको छ।