काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा आपसी हित, व्यापार, कनेक्टिभिटी तथा सांस्कृतिक सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान भएको थियो।
दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका मिश्रीले भारतीय सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको यस भ्रमणले नेपाल–भारतबीच नियमित संवाद र आपसी समझदारीलाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी दुई देशबीच छलफलमा रहेका विषयलाई सम्बोधन गर्न उच्चस्तरीय भेटवार्ताले आधार तयार गर्ने विश्वास गरिएको छ।