हेटौँडा । बागमती प्रदेश सरकारले प्रशासनिक संरचनामा व्यापक फेरबदल गर्दै १४२ जना वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतको सरुवा र पदस्थापन गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासन समूहका सातौँ र आठौँ तहका कर्मचारीलाई नयाँ कार्यस्थल तोकेको हो। कात्तिक १८ गतेको निर्णयअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, निर्देशनालय, आयोग तथा सरकारी निकायमा जिम्मेवारी दिइएको छ।
सरुवामा सबैभन्दा बढी अधिकृत उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका निकायमा खटिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रशासनिक समन्वय, व्यवस्थापन र अनुगमनको काम प्रभावकारी बनाउन पनि अधिकृतहरूको पदस्थापन गरिएको छ।
एकैपटक ठूलो सङ्ख्यामा गरिएको यो निर्णयले प्रदेशका मन्त्रालय र मातहतका कार्यालयको प्रशासनिक जिम्मेवारी तथा कार्यविभाजनमा परिवर्तन ल्याउनेछ।