काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजनीतिक तरङ्ग पैदा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा सरकार र पार्टीका नेताहरूबीच फरक धारणा सार्वजनिक भएपछि आन्तरिक असन्तुष्टि बढेको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई हटाउँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। तर, पार्टीलाई पूर्वजानकारी नदिई गरिएको भनिएको यो निर्णयले रास्वपाभित्र असन्तुष्टि जन्माएको बताइएको छ।
विवादलाई थप पेचिलो बनाउने काम सरकारका प्रवक्ता सस्मित पोखरेल र पार्टी प्रवक्ता जगदीश खरेलका फरक अभिव्यक्तिले गरेका छन्। पोखरेलले प्रहरी नेतृत्व परिवर्तन पार्टीकै निर्देशनअनुसार भएको दाबी गर्दा खरेलले भने कुनै व्यक्तिलाई नियुक्त वा पदमुक्त गर्न पार्टीले निर्देशन नदिएको स्पष्ट पारेका थिए।
यस घटनाक्रमले पार्टीको संसदीय दलको बैठक बोलाउने तयारीसमेत प्रभावित भएको छ। सर्वोच्च अदालतका न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेका बेला आईजीपी नियुक्तिको विवादले पार्टीभित्र थप अन्योल सिर्जना गरेको रास्वपाका एक नेताले बताएका छन्।
प्रधानमन्त्री एवं संसदीय दलका नेता बालेन्द्र शाह, उपनेता गणेश पराजुली र मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीबीच शनिबारसम्म बैठक बोलाउने विषयमा अनौपचारिक छलफल भए पनि मिति टुंगो लाग्न सकेको छैन।
सरकारका पछिल्ला निर्णयप्रति आलोचना बढिरहेका बेला रास्वपाले गत शनिबार सचिवालयको आकस्मिक बैठकसमेत गरेको थियो। तर, पार्टीको निर्णय र सरकारका प्रवक्ताको अभिव्यक्तिबीच देखिएको असमानताले नेतृत्व तहबीच समन्वय र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। अहिले प्रहरी नेतृत्व परिवर्तनको विवादसँगै रास्वपाको संसदीय दलको बैठक कहिले बस्छ भन्ने चासोसमेत बढेको छ।