काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउने तयारी भइरहेको भारतीय विदेश सचिव विक्रम मिस्रीले बताएका छन्। बिहीबार प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै भ्रमणको तयारीबारे जानकारी गराएका हुन्।
भेटमा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारतले तत्काल राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। विपद्का बेला प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत देखाएको ऐक्यबद्धताको पनि उनले प्रशंसा गरे।
प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासमा भारतसँग सहकार्य गर्न सकिने सम्भावनाबारे समेत चासो राखेका थिए।
जवाफमा विदेश सचिव मिस्रीले नेपाल–भारतबीच ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयन क्षेत्रसँग सम्बन्धित द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
भेटको अर्को महत्वपूर्ण विषय अयोध्या–जनकपुर रेलमार्ग बनेको थियो। मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी गराए। उनका अनुसार बिहीबार नै उक्त रेलमार्गमा परीक्षणसमेत गरिएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँगै दुई देशबीचको सम्बन्ध, पूर्वाधार, ऊर्जा र धार्मिक पर्यटनका क्षेत्रमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।