काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई लक्षित गरेर भ्रम फैलाउने र राजनीतिक षड्यन्त्र गर्ने प्रयास भइरहेको निष्कर्ष निकाल्दै सरकारको कदमको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूको माध्यमबाट पार्टी र नेतृत्वको छविमा आघात पुर्याउने गतिविधि भइरहेको ठहर गरेको हो।
बैठकपछि सहमहामन्त्री प्रकाश रसाइलीले यस्ता गतिविधिविरुद्ध पार्टीले संसद् र संसदीय समितिमार्फत समेत आवाज उठाउने बताए। निर्वाचन नजिकिँदै गर्दा पार्टीको वैधानिकता र अद्यावधिक प्रक्रियालाई जोडेर नियोजित रूपमा भ्रम सिर्जना गर्न खोजिएको उनको आरोप थियो। यद्यपि, राज्यले गर्ने कानुनी छानबिनबाट कांग्रेस पछि नहट्ने उनले स्पष्ट पारे।
महामन्त्री प्रदीप पौडेलले पनि सरकारले प्रतिशोधको राजनीति गर्न नहुने बताएका छन्। सरकार सबै पक्षको अभिभावक बन्नुपर्नेमा सरकारी संयन्त्र प्रयोग गरेर कसैलाई लक्षित गर्ने वा दबाबमा राख्ने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ।
पौडेलले अनुसन्धान र पक्राउका क्रममा कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना हुनुपर्नेमा जोड दिँदै गैरकानुनी ढंगले कसैलाई नियन्त्रणमा लिएर तर्साउने प्रवृत्ति उचित नभएको बताए। प्रधानमन्त्रीसँग जोडिएका विषयमा समेत सरकार जवाफदेही हुनुपर्ने उनको धारणा छ।
बैठकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने विषयमा सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ।