काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। काठमाडौंको बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको भेटमा नेपाल–भारत सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा छलफल भएको हो।
भेटका क्रममा लामिछानेले सन् २०२६ जुनमा भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा गरेको भारत भ्रमणको स्मरण गरेका थिए। पाँचदिने उक्त भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरलगायतका नेताहरूसँग भेटवार्ता गरेका थिए।
लामिछानेले आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमण सफल होऊन् भन्ने शुभकामना व्यक्त गरे। विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भएको यो भेटलाई कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
उनले नेपालले विकास र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्य विस्तारका विषयमा भएको यो भेटले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।