काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा काठमाडौंले विराटनगरलाई ९ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले कमजोर प्रदर्शन गर्दै १८.३ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो। जारी प्रतियोगितामा यो अहिलेसम्मकै न्यून योगफल हो।
८४ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले ९.४ ओभरमै एक विकेट गुमाएर ८६ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्यो।
काठमाडौंको जितमा डेविड वार्नर नायक बने। उनले २४ बलमा दुई चौका र तीन छक्कासहित अविजित ४४ रन बनाए। विलियम वसिस्टोले पनि २३ रनमा नटआउट रहँदै उनलाई राम्रो साथ दिए। काठमाडौंले पावरप्लेमा एक विकेटको क्षतिमा ४८ रन जोडेको थियो।
विराटनगरको ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो। केवल ६ रन जोड्दा टोलीले चार महत्वपूर्ण विकेट गुमाएको थियो। सेहान जयसुरिया, लोकेश बम, इम्रान शेख, नारायण जोशी र शुभम रञ्जानेले अपेक्षित प्रदर्शन गर्न सकेनन्।
रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्यूसले २२ रन जोडे। यी दुईबीच भएको ३९ रनको साझेदारीले विराटनगरलाई थप कमजोर योगफलबाट जोगाउने प्रयास गरेको थियो। तर अन्य ब्याटर चल्न नसक्दा टोली ८३ रनमै समेटियो।
काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक तीन विकेट लिए। सहान अराच्चिगेले दुई तथा करण केसी, जहानदाद खान, साहब आलम र देव शाहले एक–एक विकेट हात पारे।
यस जितसँगै काठमाडौंले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णाली याक्सलाई हराएको थियो।
अर्कोतर्फ विराटनगरको भने जारी प्रतियोगितामा यो तेस्रो हार हो। टोलीले यसअघि चितवन राइनोज र कर्णाली याक्ससँग पराजय बेहोरेको थियो। पछिल्ला दुई खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सलाई हराएको विराटनगरको जितयात्रामा काठमाडौंले पूर्णविराम लगाएको छ।