पोखरा । तिहार नजिकिँदै गर्दा पोखरामा सयपत्री फूलको उत्पादन र कारोबार दुवै बढेको छ। केही वर्षअघिसम्म तिहारको माग पूरा गर्न भारतबाट समेत फूल ल्याउनुपर्ने पोखरा अहिले स्थानीय उत्पादनकै भरमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार महानगरभित्र करिब दुई सय रोपनीमा तिहार लक्षित सयपत्री खेती गरिएको छ। किसानलाई प्रोत्साहन गर्न महानगरले १५० रोपनी क्षेत्रफलमा खेती गर्ने किसानलाई बीउलगायत सामग्रीमा अनुदानसमेत दिएको छ।
स्थानीय उत्पादनले पोखराको मागको करिब ७० प्रतिशत धान्ने गरेको छ। बाँकी ३० प्रतिशत फूल छिमेकी जिल्ला तथा गाउँपालिकाबाट आपूर्ति हुँदै आएको छ।
किसानको उत्पादन सुरक्षित गर्न महानगरले फूलको समर्थन मूल्यसमेत निर्धारण गरेको छ। सयपत्री फूलको मूल्य प्रतिकिलो पाँच सय र प्रतिमाला दुई सय रुपैयाँसम्म तोकिएको छ। बिक्री नभई फूल खेर जाने अवस्था आए प्राविधिक मूल्यांकनका आधारमा प्रतिकिलो ८५ रुपैयाँ समर्थन मूल्य उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यसैबीच, पोखरामा बुधबारदेखि सुरु भएको नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा सयपत्री पुष्प मेलामा ग्राहकको आकर्षण बढेको व्यवसायीले बताएका छन्। छ दिनसम्म सञ्चालन हुने मेलामा यस वर्ष अघिल्लो वर्षभन्दा राम्रो व्यापार भइरहेको पुष्प व्यवसायी प्रेम खड्काले बताए।
श्रेष्ठ कृषि फर्मका सञ्चालक रमेशकुमार श्रेष्ठले मेलाले सयपत्री उत्पादनमा किसानलाई थप उत्साह दिएको बताए। पोखरामा वार्षिक दुईदेखि तीन करोड रुपैयाँसम्मको फूल कारोबार हुने अनुमान छ।
आयोजकका अनुसार मेलामा २६ प्रदर्शनी कक्ष, २२ व्यावसायिक स्टल, तीन कृषि सामग्री स्टल र सूचनामूलक स्टल राखिएका छन्।