काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिले छलफल अघि बढाएको छ। समितिले उजुरीकर्तासँग प्रत्यक्ष छलफल गर्दै उनीहरूले उठाएका विषय र आरोपबारे जानकारी लिइरहेको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा जारी बैठकमा प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्दरबहादुर सारु पनि उपस्थित छन्।
चार प्रस्तावित न्यायाधीशविरुद्ध कुल १३ वटा उजुरी परेका छन्। यसअघि बिहीबार बसेको समितिको बैठकमा डा. बागचन्द, सारु, जनकबहादुर पाण्डे र गोकर्ण डाँगीविरुद्ध प्राप्त उजुरी खोलिएको थियो। त्यसपछि अध्ययनका लागि उजुरीहरू समिति सदस्यहरूलाई वितरण गरिएको थियो।
न्यायपरिषद्ले गत असोज २० गते सर्वोच्च अदालतका लागि चार न्यायाधीशको नाम सिफारिस गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई न्यायाधीशमा नियुक्त गर्नेछन्।