काठमाडौं । पञ्चायतकालमा भूमिगत राजनीतिक जीवन बिताइरहेका वामपन्थी नेताहरूलाई दोलखामा आश्रय दिएर सहयोग गरेकी रनधता पोखरेलको निधन भएको छ। उनको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
भक्तपुरको लोकन्थलीमा बिहीबार साँझ ९१ वर्षको उमेरमा निधन भएकी पोखरेलको पार्थिव शरीरमा ओलीले पशुपति आर्यघाटमा एमालेको झण्डा ओढाएर अन्तिम सम्मान प्रकट गरे।
श्रद्धाञ्जली दिन कानुनमन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरे, एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङलगायत नेता तथा जनप्रतिनिधि आर्यघाट पुगेका थिए।
पञ्चायतकालमा भूमिगत रहेका ओली, ईश्वर पोखरेल, अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायत नेताहरूलाई उनले आश्रय दिएर सहयोग गरेकी थिइन्। लोकतान्त्रिक आन्दोलनका क्रममा उनले पुर्याएको योगदानलाई नेताहरूले स्मरण गरेका छन्।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा रहेकी रनधताको पशुपति आर्यघाटमै अन्त्येष्टि गरिएको छ। उनका दुई छोरा र दुई छोरी छन्।