काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीविरुद्ध संसदीय सुनुवाइ समितिमा गम्भीर आरोपसहित उजुरी परेको छ। उजुरीकर्ता टंकराज न्यौपानेले आफ्नो जग्गा गैरकानुनी रूपमा कब्जा गरिएको र विवाद मिलाउन खोज्दा धम्कीसमेत पाएको दाबी गरेका छन्।
समितिसमक्ष आफ्नो धारणा राख्दै न्यौपानेले जग्गा विवादमा आरोपित व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न नहुने माग गरे। ‘मेरो जग्गा खानेलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन मिल्दैन,’ उनले भने।
न्यौपानेका अनुसार सामान्य निवेदनका आधारमा आफन्तको नामसमेत समेटेर जग्गा अधिग्रहण गरिएको थियो। तर, अधिग्रहणपछि नगर विकास समितिलाई हस्तान्तरण नगरी आफूहरूलाई फिर्तासमेत नदिई बिक्री गरिएको उनको आरोप छ।
यस विषयमा कपिलवस्तु जिल्ला अदालत र उच्च अदालत तुलसीपुरबाट समेत न्याय नपाएको उनको गुनासो छ। जिल्ला अदालतले आफ्नो दाबी नपुग्ने फैसला गरेको र उच्च अदालतले पनि उक्त निर्णय सदर गरेको उनले बताए। हाल जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको न्यौपानेले समितिलाई जानकारी गराएका छन्।
उनले विवाद मिलापत्रका लागि गएको समयमा प्रस्तावित न्यायाधीश डाँगीका दाजु दिनेश डाँगीले जेल हाल्ने धम्की दिएको आरोपसमेत लगाए। ‘मेरो भाइ सर्वोच्च अदालतमा गइसकेको छ, अब तँलाई जेल हाल्छु’ भन्दै धम्की दिएको न्यौपानेको भनाइ छ।
यी आरोपमाथि सम्बन्धित पक्षको प्रतिक्रिया तथा न्यायिक निष्कर्ष सार्वजनिक भइसकेको छैन। संसदीय सुनुवाइका क्रममा उजुरीकर्ताले उठाएका विषय अब समितिको परीक्षणमा रहनेछन्।