काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले सरकारको गतिविधिलाई हिन्दी जासुसी फिल्मसँग तुलना गर्दै राज्य सञ्चालनमा अनिश्चितता र अन्योल बढेको टिप्पणी गरेका हुन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान अवस्थामा कुन बेला पत्रकार पक्राउ पर्ने वा कसैमाथि आक्रमण हुने हो भन्ने निश्चित नभएको बताए।
उनका अनुसार पछिल्लो ३५ वर्षमा प्राप्त राजनीतिक उपलब्धिलाई बेवास्ता गर्दै विवेकहीन, अराजक र निरंकुश प्रवृत्तिलाई प्रोत्साहन गर्ने भाष्य निर्माण भइरहेको छ।
प्रचण्डले गणतन्त्र, संघीयता र समावेशिताजस्ता उपलब्धि हासिल गर्न राजनीतिक दलहरूले गरेको संघर्षलाई बिर्सन नहुने बताए। विगतका सरकारलाई काम गर्ने पर्याप्त वातावरण दिइएको भए मुलुकले अझ धेरै उपलब्धि हासिल गर्न सक्ने उनको दाबी थियो।
उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा अभियान सञ्चालन गर्दा आफू नेतृत्वको सरकारलाई अपदस्थ गरिएको प्रसंगसमेत उल्लेख गरे।
प्रचण्डको पछिल्लो अभिव्यक्तिले बालेन नेतृत्वको सरकार र पुराना राजनीतिक दलहरूबीचको राजनीतिक मतभेद थप सार्वजनिक गरेको छ।