काठमाडौं । तिहारमा देउसी–भैलो खेल्ने समयलाई लिएर अब कुनै समयसीमा लागू नहुने भएको छ। गृह मन्त्रालयले आवश्यक सुरक्षा र मर्यादा कायम राख्दै चौबिसै घण्टा देउसी–भैलो सञ्चालन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
सोमबार सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था मिलाउन परिपत्र गरेको हो।
मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्णतः स्वेच्छिक र अनुशासित हुनुपर्ने स्पष्ट पारेको छ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन दबाब दिन नपाइने तथा जातजाति, धर्म, भाषा, लिङ्ग र समुदायबीच द्वेष फैलाउने अश्लील गीत, नृत्य वा नारामा रोक लगाउन प्रशासनलाई भनिएको छ।
चाडपर्वका नाममा जुवा–तास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाउने गतिविधि नियन्त्रण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
त्यसैगरी, अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम बजाउन नपाइने र अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्नेछ।
कुनै शङ्कास्पद गतिविधि, दुर्घटना वा समस्या देखिए तत्काल प्रहरी नियन्त्रण कक्ष ९१००० वा आपत्कालीन कार्य सञ्चालन केन्द्र ९१२३४० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।