काठमाडौं । नेपालको आर्थिक तथा राजनीतिक वृत्तमा सक्रिय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वका प्रभावशाली व्यक्तिहरूको सूचीमा परेका छन् । अमेरिकी प्रतिष्ठित पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को १०० प्रभावशाली व्यक्तिको सूचीमा वाग्ले समेटिएका हुन् ।
जलवायु परिवर्तन, दिगो आर्थिक विकास र जलवायु न्यायका क्षेत्रमा उनले गरेको काम तथा अन्तर्राष्ट्रिय पैरवीलाई यस उपलब्धिको मुख्य आधार मानिएको छ ।
विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलवायु परिवर्तनबाट प्रभावित मुलुकले भोग्नुपरेका समस्या र जलवायु न्यायको आवश्यकताबारे उनले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाएका थिए । जलवायु वित्तको व्यवस्था, स्रोतको न्यायोचित वितरण तथा अन्तर्राष्ट्रिय आर्थिक प्रणालीमा सुधारको पक्षमा उनले राखेका विचारले पनि उनको पहिचानलाई फराकिलो बनाएको बताइएको छ ।
वाग्ले विगत २८ वर्षदेखि दिगो आर्थिक विकास, सार्वजनिक नीति निर्माण, अध्ययन तथा राजनीतिमा सक्रिय रहँदै आएका छन् । अर्थतन्त्र र विकासका सवालमा उनको लामो अनुभवलाई समेत अन्तर्राष्ट्रिय स्तरमा अर्थपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
टाइमको यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनलगायत विश्वचर्चित व्यक्तित्वहरू पनि समावेश छन् ।
विश्वका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूबीच नेपालको प्रतिनिधित्व गर्दै वाग्ले सूचीमा पर्नुलाई नेपालको अन्तर्राष्ट्रिय पहिचान र जलवायु न्यायसम्बन्धी पैरवीका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।