काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकारको कार्यशैली विगतका सरकारभन्दा फरक नरहेको टिप्पणी गरे। सरकार आफ्नै कामकारबाहीमा केन्द्रित हुनुपर्नेमा अन्य दलको नेतृत्व चयन, पार्टी विभाजन र नेताहरूमाथि आरोप लगाउने गतिविधिमा लागेको उनको भनाइ थियो।
‘रास्वपाले कांग्रेसभित्र किन हस्तक्षेप गर्नुपर्यो ?’ भन्दै पौडेलले सरकारको यस्तो व्यवहारले राजनीतिक क्षेत्रमा नयाँ प्रकारको गुटबन्दीलाई प्रश्रय दिन खोजिएको आशंका बढाएको बताए।
सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै उनले सत्तारूढ दलमा आलोचना सुन्ने क्षमता कमजोर देखिएको टिप्पणी गरे। जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको उनको दाबी थियो।
दुई तिहाइ बहुमत प्राप्त सरकारले समेत आलोचनाबाट डराउनुपर्ने अवस्था किन आएको भन्दै पौडेलले प्रश्न गरे। कांग्रेसले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु लोकतान्त्रिक जिम्मेवारी भएको उल्लेख गर्दै उनले प्रश्न गर्ने आवाज दबाउन विभिन्न प्रयास भइरहेको आरोप लगाए।
विधिको शासन र कानुनी राज्यमा कसैलाई पनि पूर्वाग्रहका आधारमा दोषी ठहर गर्न नमिल्ने उनको भनाइ थियो। कानुनी प्रक्रियाभन्दा बाहिर गएर व्यक्तिलाई निशाना बनाउने अधिकार सरकारलाई नरहेको चेतावनीसमेत उनले दिए।
सरकारको वर्तमान कार्यशैलीले लोकतान्त्रिक व्यवस्थामाथि नै चुनौती थप्न सक्ने भन्दै पौडेलले सत्ता सञ्चालनमा विधि, प्रक्रिया र राजनीतिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिए।